स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको सवारी दुर्घटनामा मृत्यु
प्युठान, १३ असार । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको शनिबार सवारी दुर्घटनामा मृत्यु भएको छ।
५० वर्षीय रानामगरले आफैँ चलाएको लु प्र १–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला क्षेत्रमा सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माले जानकारी दिए।
उनका अनुसार प्रहरी निरीक्षक विश्वकर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार












