पाँच सचिवको सरुवा, राजश्वमा भूपाल बराल



काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय तथा प्रदेश मन्त्रालयका पाँच सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत भूपाल बराललाई अर्थ मन्त्रालयमा राजश्व सचिवका रूपमा पठाइएको छ। राजश्व क्षेत्रमा बरालको पूर्वसम्बन्ध र सक्रियताका कारण यो जिम्मेवारी उनको पक्षमा जुरेको स्रोतले जनाएको छ।

त्यसैगरी, लामो समयदेखि बढुवा भएर पनि पदस्थापन हुन बाँकी रहेका अतिरिक्त सचिव कृष्ण प्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा खटाइएको छ। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (अतिरिक्त) मा राखिएको छ।

यसैबीच, वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्