दिल्ली विस्फोटपछि काश्मीरमा प्रहरीको कडाइ, धेरै सन्दिग्ध हिरासतमा



भारत, २६ कात्तिक भारतीय सुरक्षा निकायले यस हप्ता नयाँदिल्लीमा भएको घातक कार विस्फोटको अनुसन्धानको सिलसिलामा विवादित काश्मीर क्षेत्रमा व्यापक छापा मार्दै धेरै सन्दिग्धलाई हिरासतमा लिएको अधिकारीले बुधबार जनाएका छन् ।

सोमबार राजधानी नयाँदिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए । अधिकारीले मङ्गलबार यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधिका रूपमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्, जसअनुसार अनुसन्धान कर्तालाई व्यक्तिलाई पक्राउ गर्न वा हिरासतमा लिन विशेष कानुनी अधिकार प्राप्त हुन्छ ।

१७ औँ शताब्दीमा निर्माण गरिएको लाल किल्ला भारतको प्रमुख ऐतिहासिक र सांस्कृतिक प्रतीक हो । यहाँ प्रत्येक वर्ष अगस्ट १५ का दिन प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको सम्बोधन गर्ने परम्परा छ । यदि यो विस्फोट जानाजानी गरिएको आक्रमण भएको प्रमाणित भयो भने यो सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक घटना हुने छ ।

काश्मीरको दक्षिणी पुलवामा जिल्लामा मङ्गलबार राति गरिएको शृङ्खलाबद्ध छापामा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । अधिकारिका अनुसार सोमबारको विस्फोट त्यसअघि केही घण्टा मात्र अघि भारतीय नियन्त्रित काश्मीरमा प्रहरीले नयाँदिल्ली बाहिरी क्षेत्र फरिदाबादमा सञ्चालन भइरहेको सन्दिग्ध आतङ्कवादी सेललाई ध्वस्त पारेको घोषणा गरेपछि भएको हो । 

फरिदाबादमा दुई चिकित्सकसहित कम्तीमा सात जनालाई पक्राउ गरिएको थियो । प्रहरीले ठुलो मात्रामा हतियार र बम बनाउने सामग्री जफत गरेको बताइएको छ । भारतीय समाचार संस्थाका अनुसार दिल्ली विस्फोट उक्त सेलसँग प्रत्यक्षरूपमा जोडिएको हुन सक्ने आशङ्का गरिएको छ । तर प्रहरी निकायले चलिरहेको अनुसन्धानलाई कारण देखाउँदै यस विषयमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

मुद्दासँग परिचित चार काश्मीरी प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा बताएका अनुसार यो अनुसन्धान अक्टोबर १९ मा श्रीनगर वरपर भारतविरोधी पोस्टर देखिएपछि सुरु भएको थियो । ती पोस्टरले काश्मीरमा तैनाथ भारतीय सैनिकमाथि आक्रमण गर्ने धम्की दिएका थिए । अधिकारीहरूले सिसिटिभी फुटेजको सहयोगमा सन्दिग्धको पहिचान गरिएको र सुरुमा कम्तीमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पछिल्लो तीन हप्तामा सोधपुछका क्रममा भारतका दुई सहरमा कार्यरत दुई काश्मीरी चिकित्सक र अन्य दुई स्थानीय व्यक्तिलाई पनि हिरासतमा लिइएको छ । स्थानीय सञ्चार माध्यमले उक्त विस्फोटमा प्रयोग गरिएको कारको चालक काश्मीरको भएको दाबी गरेका छन् । भारतीय समाचार संस्थाले फरिदाबादको मेडिकल कलेजमा कार्यरत एक काश्मीरी चिकित्सक त्यही कारमा सवार थिए कि थिएनन् भन्नेबारे प्रहरी अनुसन्धान चलिरहेको जनाएका छन् ।

हालसम्म प्रहरी निकायले यी दाबीको पुष्टि गरेका छैनन् । तर भारतीय सञ्चार माध्यमका अनुसार सम्भवतः चिकित्सकले गिरफ्तारीबाट बच्न जानाजानी विस्फोट गराएको वा अनजानमा विस्फोटक पदार्थ ओसार्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धान कर्ताले ‘आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा कारमा भएको यान्त्रिक विफलता जस्ता सबै कोणबाट अनुसन्धान गरिरहेको’ जानकारी दिनुभयो ।

यसबिच, पुलवामा जिल्लाका चिकित्सकमध्ये एक जना सन्दिग्धकी बहिनी शगुफ्ता जानले गत शुक्रबारदेखि आफ्नो भाइसँग सम्पर्क हुन नसकेको बताउनुभयो । “उहाँले शुक्रबार हामीलाई फोन गरेर घर आउँछु भन्नुभएको थियो । तीन दिनपछि आउने बताउनुभएको थियो, तर त्यसपछि कुनै सम्पर्क भएन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सोमबार राति प्रहरी अधिकारी घरमै आएर चिकित्सककी आमासँगै उनका दुई दाजुभाइलाई पनि सोधपुछका लागि साथमा लगेका छन् । भारतीय अधिकारीले भने अनुसन्धान संवेदनशील भएकाले थप विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्