बिहार विधानसभा चुनाव : एनडीएको भारी अग्रता, तेजस्वी–तेजप्रताप दुवै पछाडि



काठमाडौँ । बिहार विधानसभा चुनाव २०२५ को मतगणना जारी रहँदा प्रारम्भिक रुझानहरूमा एनडीएले भारी अग्रता बनाएको छ। शुक्रबार बिहान सुरु भएको मतगणनाको करिब तीन घण्टा बितिसक्दा एनडीए १९१ सिटमा अगाडि रहेको छ भने महागठबन्धन ४८ सिटमा सीमित देखिएको छ। बहुमतका लागि आवश्यक १२२ सिट सहजै पार गर्दै एनडीए स्पष्ट बहुमततर्फ उन्मुख देखिन्छ।

यसैबीच, आरजेडीका प्रमुख नेता तथा महागठबन्धनका मुख्यमन्त्री उम्मेदवार तेजस्वी यादव आफ्ना परम्परागत सीट राघोपुरमा पछाडि परेका छन्। मतदानको प्रारम्भिक चरणमा केही समय अघि रहे पनि पछिल्लो रुझानमा उनी भाजपा उम्मेदवार सतीश कुमारभन्दा १२०० भन्दा बढी मतले पछाडि छन्। तेजस्वी यसअघि दुई पटक यही क्षेत्रबाट विधायक निर्वाचित भएका थिए।

आरजेडीबाट अलग भई आफ्नै पार्टी बनाएका तेजप्रताप यादव पनि राम्रो प्रदर्शन गर्न नसकेका छन्। महुआ सीटमा उनी चौथो स्थानमा रहेका छन् भने यस क्षेत्रमा लोक जनशक्ति पार्टी (राम विलास) का उम्मेदवार संजय कुमार सिंहले साढे तीन हजार मतभन्दा बढीको अग्रता बनाइरहेका छन्।

राज्यका २४३ सिटमा दुई चरणमा मतदान सम्पन्न भएको थियो। यसपटक ६७.१३ प्रतिशत मत खसेको छ, जुन १९५१ पछि सबैभन्दा धेरै मतदान हो।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्