नेपालपछि मेक्सिकोमा पनि देशव्यापी जेनजीको प्रदर्शन, राष्ट्रपति भवनमा तोडफोड



काठमाडौं । नेपालमा जेनजी आन्दोलन भएको एक महिनापछि मेक्सिकोमा पनि हजारौं युवाहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। शनिबार जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा हजारौं युवाहरू सहभागी भएका हुन्।

राजधानी मेक्सिको सिटीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त समेत बनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

युवाहरूले देशभरि बढ्दो हिंसा र अपराध नियन्त्रणका लागि सरकारले चासो नदिएको आरोप लगाएका छन्। नोभेम्बर १ मा मिचोआकान राज्यको उरूआपान नगरका मेयर कार्लोस म्यान्जोको सार्वजनिक कार्यक्रममै गोली हानी हत्या भएको थियो।

यो घटनापछि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको, हिंसा भड्काएको भनेर युवाहरू आक्रोशित भएको रोयटर्सले जनाएको छ।

उनीहरूले सामाजिक सञ्जाल ‘बोट’ मार्फत अभियान चलाएका थिए।

सामाजिक सञ्जालबाटै आह्वान भएको प्रदर्शनमा हजारौं युवाहरू सहभागी भएका हुन्।

शनिबार प्रदर्शनकारीहरू राष्ट्रपति क्लाउडिया सेइनबाउमको निवासमा पस्न खोजेपछि माहोल तनावपूर्ण बनेका थिए। राष्ट्रपति भवनको वरपर लगाइएका बारहरू प्रदर्शनकारीले भत्काउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको थियो।

सार्वजनिक सुरक्षामन्त्री पाब्लो भास्केजले झडपमा १०० जना प्रहरी घाइते भएको बताएका छन्।

तीमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ। झडपमा २० जना सर्वसाधारण पनि घाइते भएको उनले जानकारी दिए।

यसअघि नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार मात्रै ढलेन देशभर नै आगलागीका घटना भए । त्यतिमात्रै होइन प्रहरीमाथि कुटीकुटी हत्या गर्नेदेखि कार्यालयहरुमा समेत आगजनी भयो ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्