बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना मानवता विरुद्धको अपराधमा दोषी ठहर



एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा स्थानीय अदालतले दोषी ठहर गरेको छ ।

न्यायाधीश गुलाम मुर्तजा, मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीको तीन सदस्यीय इजलासले पूर्व प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको हो ।

गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको इजलासले ठहर गरेको छ । मुद्दाको फैसला सुनाउने क्रम जारी रहेकाले हसिनाविरुद्धको सजाय भने निर्धारण हुन बाँकी छ ।

गत ५ अगस्ट २०२४ मा बंगलादेशमा भएको विशाल जनप्रदर्शनपछि शेख हसिनाको सरकार ढलेको थियो। सरकारी जागिरमा रहेको आरक्षण प्रणाली (कोटा सिस्टम) विरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले पछि राष्ट्रव्यापी रूप लिएको थियो।

प्रदर्शनकारी विद्यार्थीहरूमाथि दमन, यातना र गोली चलाएको आरोप लागेपछि हिंसा भड्किएको थियो।

स्थिति नियन्त्रण बाहिर गएपछि ७७ वर्षीया हसिना देश छाडेर भारतमा शरण लिन पुगेकी थिइन् र त्यसबेलादेखि उनी भारतमै छिन्। उनको २० वर्षे शासनको अन्त्यपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

हसिना देश छाडेपछि न्यायाधिकरणले उनीविरुद्ध मुद्दा दर्ता गर्दै देश फर्केर सामना गर्न आदेश दिएको थियो। उनले आदेश नमानेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

बंगलादेशको वर्तमान अन्तरिम सरकारले हसिनाविरुद्ध हत्या, अपहरण र देशद्रोहसहित २२५ भन्दा बढी मुद्दा दर्ता गरेको छ र उनको राहदानी पनि रद्द गरिसकेको छ।

सरकारी वकिलले हसिनामाथि हत्या र मानवता विरुद्धको अपराधसहित पाँच गम्भीर आरोप लगाउँदै उनका लागि मृत्युदण्डको माग गरेका छन्।

यसैबीच, हसिनाको पार्टी अवामी लिगले आज देशव्यापी बन्दको आह्वान गरेको छ, जसले जनजीवन प्रभावित हुनसक्ने देखिएको छ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्