शेख हसिनालाई भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा २१ वर्षको जेल सजाय
एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीनवटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ ।
विशेष न्यायाधीश-५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात-सात वर्षका दरले सजाय तोकेका हुन् ।
बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसिसी) ले गत जनवरीमा शेख हसिना र उनको परिवारका सदस्यहरूविरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानुनी रूपमा बाँडेको गरेको आरोपमा ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइनेछ ।
अदालतले शेख हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना तोकेको छ । त्यस्तै, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले शेख हसिनालाई सन् २०२४ जुलाईमा सरकार विरोधी आन्दोलन दमनको क्रममा मानवताविरुद्धका अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ ।
ती घटनामा मानव अधिकार उल्लंघन भएको भन्दै आइसिटीले थप कडा कारबाही गरेको थियो ।सन् २०२४ जुलाईमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्यार्थी नेतृत्वको व्यापक विद्रोह भड्किएको थियो । निरन्तर दबाबपछि उहाँ सन् २०२४ अगस्ट ५ मा देश छाडेर भारतमा शरण लिन पुगेकी थिइन् ।
त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो, जसले हालसम्मका कानुनी तथा राजनीतिक प्रक्रियाहरू अघि बढाइरहेको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार
















