ट्रम्पका दूतसँग रुसी राष्ट्रपतिले मस्कोमा वार्ता गर्ने, रुस–युक्रेन युद्धबारे छलफल हुने



मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अमेरिकी विशेष दूतसँग मस्कोटमा भेटवार्ता गर्दैछन् ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकफलाई मस्को पठाएका हुन् । रुसी राष्ट्रपति पुटिनले विटकफसँग छलफल गर्ने तय भइसकेको छ ।

यसअघि अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने बारेमा ‘धेरै आशावादी’ रहेको बताएको थियो ।

रुसी राष्ट्रपतिसँगको छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि सहभागी हुने अपेक्षा गरिएको छ । कुशनरले कूटनीतिक वार्तामा बाह्य सल्लाहकारको रूपमा काम गरेका छन् ।

फ्लोरिडामा विटकफ र कुशनर लगायत युक्रेनी र अमेरिकी अधिकारीहरू बिच दुई दिनको वार्तापछि अमेरिकी टोलीले रुसी राष्ट्रपतिसँग यसबारे वार्ता गर्न थालेको हो ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी अधिकारी र युक्रेनी अधिकारीबिच भएको वार्तालाई ‘रचनात्मक’ भनेका छन् । यद्यपि केही कठिन मुद्दामा अझै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंसँगको भेटपछि जेलेन्स्कीले शान्ति वार्तामा युक्रेनको सार्वभौमसत्ता कायम राख्नु र बलियो सुरक्षा ग्यारेन्टी प्राप्त गर्नु नै आफ्नो प्राथमिकता रहेको बताए ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्