पशुपति क्षेत्रमा श्रीगीता जयन्ती सम्पन्न, नेपाली भाषामा १०० भन्दा बढी पुस्तक प्रकाशन लक्ष्य
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीको प्रमुख आतिथ्यतामा, पूर्व सदस्य सचिव तथा मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन, पशुपतिनाथका मूल भट्ट गिरीश रावल भट्ट तथा श्री वेंकटेश मन्दिरका मठाधीश पद्मधराचार्यकाे विशिष्ट आतिथ्यतामा श्रीगीता जयन्ती कार्यक्रम भव्य रूपमा सम्पन्न गरियो ।
कार्यक्रम श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको पहलमा, गीता परिवार नेपाल तथा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं–बुटवलको व्यवस्थापनमा, गीतामाताे आराधना गर्दै मनाइएको थियो ।
अध्यक्ष जय किसन सारडाको सभापतित्वमा चलेको कार्यक्रममा उनले उपस्थित सबै महानुभावप्रति स्वागत व्यक्त गर्दै गीताप्रेस नेपालका गतिविधि र नेपालमा सुरु भएका पुराणहरूको अनुवाद–प्रकाशन कार्यबारे जानकारी गराए । उनका अनुसार हालसम्म करिब ८० वटा पुस्तक नेपालीमा अनुवादित भइसकेका छन् भने सन् २०२६ ‘कल्याण शताब्दी वर्ष’सम्म १०० भन्दा बढी पुस्तक नेपाली भाषामा प्रकाशित गर्ने लक्ष्य राखिएको छ ।
अध्यक्ष सारडाले गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपालीमा अनुवाद गरी पशुपतिनाथ परिसरमै प्रचार–प्रसार र वितरण गर्न निरन्तर सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै श्री पशुपति क्षेत्र विकास कोषप्रति पूर्ण अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा मूल भट्ट गिरीश रावल भट्टले आशिर्वाद प्रदान गरेका थिए । त्यसैगरी विशिष्ट अतिथिहरू डा. गोविन्द टण्डन, पद्मधराचार्य र प्रमुख अतिथि सुभाष चन्द्र जोशीले आफ्नो मन्तव्य राखे ।
आयोजक समिति तथा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका तर्फबाट धन्यवाद उपाध्यक्ष भरतकुमार तोदीले दिए भने कार्यक्रम सञ्चालन संयोजक एवम् महासचिव अञ्जनी नन्दन मारुले गरेका थिए ।
कार्यक्रममा विभिन्न धार्मिक–सांस्कृतिक संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, विद्यापीठ, मारवाडी समाजका पदाधिकारी, विद्वान तथा लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार












