सहायक सिडिओको खानामा शङ्खे किरा भेटिएपछि…



नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ स्थित रोयल कटेज रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले ५० हजार जरिवाना गरेको छ ।

बर्दघाट नगरपालिकाका वडाहरुलाई बालमैत्री घोषणाका लागि अनुगमनमा निस्किएको सहायक सिडिओ नेतृत्वको टोली अनुगमनपश्चात् उक्त होटलमा खान गएका थियो ।

खाना खाने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी खानामा शङ्खे किरा भेटिएको थियो ।

त्यसपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गरेको, होटलमा प्रयोग भएको सामग्रीसमेत अस्वस्थकर भेटिएपछि जरिवाना गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सहित घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले तत्काल अनुगमन गरेर ५० हजार जरिवाना र आगामी दिनमा यस्तो गल्ती नगर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

केहीदिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनको क्रममा गृहमन्त्री सुधन गुरुङसहितको टोलीले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं. १० मा सञ्चालित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि’ लाई ३लाख नगद जरिवानासहित कारबाही गरेको थियो । यसैगरी उक्त होटलबाट दुई कुकुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

उक्त विषय सेलाउन नपाउँदै पश्चिम नवलपरासीमा पनि यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्