मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, सुरक्षा व्यवस्था कडा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ ।
बिहान ८ बजे बोलाइएको बैठक अझै सुरु भएको छैन । बैठक ढिलाइ हुँदै गर्दा प्रदेश सभा भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गरिएको छ ।
यसअघि जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा पनि एकपटक सुरक्षा जाँच गरिएको थियो ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेको हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २२ गते प्रदेश सभाबाट राजीनामा घोषणा गरेका थिए ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
अस्वस्थ भएर उपचारका लागि काठमाडौं जान्छु भनेर मधेश भवनबाट निस्किएकी भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा कात्तिक २४ गते झिसमिसे बिहानीमा शपथ खुवाएपछि विवाद बढेको थियो । त्यसबाट असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












