काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान
काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिएको छ । मङ्सिर १७ र १८ मा सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर उनीसँग बयान लिइएको हो ।
भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए । बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा आलोचना भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेभसाइटबाट उनको फोटो हटाइएको थियो । सहसचिव रिजालसँग आयोगका पदाधिकारीले दुई दिनदेखि बयान लिए पनि केही प्रश्न अझै बाँकी रहेको आयोगका एकजना सदस्यले जानकारी दिएका छन् । ती सदस्यले भने– ‘छवि रिजालको बयान अन्तिम चरणमा छन्, शुक्रबार केही प्रश्नहरूको जवाफ दिन बोलाउँछौँ ।’
गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र प्रहरीका एआईजी सिद्धिविक्रम शाहसँग आयोगले सोधपुछ गरेको थियो । जेनजी प्रदर्शन हुँदा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार












