उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन: शिक्षामन्त्री पुन
काठमाडौं। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचना निकाल्दा समेत कसैले दरखास्त दिएका छैनन् ।
उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यहीमंसिर ५ गतेसम्म बढाएको थियो। तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन।
सोहि विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक आह्वान गरेका छन्।
‘उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस्। वा मलाई नै सम्पर्क गर्नुहोस्,’ शिक्षामन्त्री महावीर पुनले भनेका छन् ।
प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार












