एनसेलको नयाँ अफर


 


काठमाडौं, चैत ३१
एनसेलले नयाँ वर्षको अवसरमा रोमिङमा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने प्रिपेड र पोस्टपेड ग्राहकका लागि रोमिङको नयाँ योजना ल्याएको छ ।

योजना अन्तर्गत एनसेलले विदेश भ्रमणमा जानेका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जसमा एनसेलका ग्राहकले आफू रोमिङ्मा रहेको समयमा पनि आफ्ना परिवार, आफन्त तथा सम्बन्धित देशका व्यावसायिक साझेदारहरुसँग सम्पर्कमा रहन सक्नेछन् ।

यो अफर बिहीबारदेखि लागु हुने एनसेलले विज्ञप्तीमार्फत जनाएको छ । दैनिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकलेसेवा निःशुल्क सुचारु गरि करसहित मात्र पाँच सयमा अनलिमिटेड डेटा लिन सक्नेछन् । सेवा एक पटक सुचारु गरेपछि ग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ ।

पाँच सय रुपैयाँ शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात् प्याक नवीकरण भएपनि डेटा प्रयोग नगरेमा प्याक बापतको शुल्क लाग्ने छैन ।

दैनिक रोमिङ् डेटा प्याक भारत, चिन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागु हुनेछ । त्यसैगरी आफू यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले कर सहित मात्र पाँच सय रुपैयाँमा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक लिन सक्नेछन् ।

यो प्याक अन्तर्गत ग्राहकले रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देश भित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कलका साथै २५ वटा एसएमएस पठाउन सक्ने एनसेलले जनाएको छ ।

यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । यो प्याक भारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ । एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

यसका साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वतः उपलब्ध हुने बनाएको छ ।

यसअन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वतः उपलब्ध भएको जानकारी गराइने छ ।

भारत र चीनको लागि भने प्रिपेडमा स्वतः रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफू यात्रामा जानुअघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ ।

दैनिक भ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिएपछि नियमित रोमिङ् शुल्क लागु हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् ।

प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्