नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको जानकारी दिनुभएको हो । 

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ । 

उक्त नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको पनि जनाइएको छ । 

सोही प्रमाणपत्र प्रयोग गरी उहाँले विसं २०५२ मङ्सिर १६ गते नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिई क्रमशः बढुवा हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको आयोगको दाबी छ ।

नक्कली प्रमाणपत्रका आधारमा ओहोदा, तलब, सुविधा तथा विभिन्न तालिमसमेत लिएको देखिएको भन्दै आयोगले गिरीविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐनअनुसार सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्