हेटौँडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव हुने
मकवानपुर, ९ असार । हेटौँडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव आयोजना हुने भएको छ । प्रदेश कृषि थोक बजार सञ्चालक समितिको आयोजनामा असार ११, १२ र १३ गते तीनदिने महोत्सव सञ्चालन हुने भएको छ ।
प्रदेश कृषि थोक बजार सञ्चालक समितिका कार्यकारी अधिकृत टिका प्रसाद काफ्लेले मङ्गलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिएका छन् ।
उनले नवनिर्मित प्रदेश कृषि थोक बजारको शुभारम्भ तथा प्रवर्द्धन गर्ने उद्देश्यले “उत्पादनदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट” नारासहित महोत्सव आयोजना गर्न लागिएको बताएका छन् ।
महोत्सवमा ड्रागन फ्रुटको प्रदर्शनी तथा बिक्रीसँगै ताजा जुस, आइसक्रिम, सलाद, जामलगायत विभिन्न परिकारको स्वाद लिन सकिनेछ ।
त्यसैगरी ड्रागन फ्रुटका उन्नत बिरुवा, आधुनिक खेती प्रविधि तथा प्राङ्गारिक मलको प्रदर्शनी गरिनेछ । उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने कृषकलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
करिब ३० वटा स्टल रहने महोत्सव गर्मीलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिने काफ्लेले बताएका छन् ।
मकवानपुरमा हाल व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती हुँदै आएको छ । जिल्लामा वार्षिक १० हजार किलोग्रामभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने गरेको छ । यसको बिक्री मूल्य प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्म रहेको बताइएको छ ।
मकवानपुरमा उत्पादित ड्रागन फ्रुट हेटौँडासहित काठमाडौँ, पोखरा लगायतका सहरमा बिक्री हुने गरेको छ ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












