हवाई सुरक्षा सहकार्य विस्तार गर्न काठमाडौँमा इयुका दुई क्षेत्रीय कार्यक्रम



काठमाडौँ, ९ असार । युरोपेली सङ्घ (इयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौँमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

यी कार्यक्रममार्फत दक्षिण एसियामा हवाई सुरक्षासम्बन्धी संवाद र सहकार्यका लागि काठमाडौँ महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।

इयु–दक्षिण एसिया हवाई साझेदारी परियोजनाअन्तर्गत आयोजित कार्यक्रमहरूमा दक्षिण एसियाका हवाई नियामक निकाय, वायुसेवा कम्पनी, उद्योग क्षेत्रका प्रतिनिधि तथा प्राविधिक विज्ञहरू सहभागी छन् । कार्यक्रममा अनुभव आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार तथा हवाई सुरक्षासम्बन्धी व्यावहारिक उपायबारे छलफल भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आयोजना तथा ATR सँगको सहकार्यमा सुरु भएको क्षेत्रीय हवाई सुरक्षा कार्यक्रमको तेस्रो मोड्युल असार ११ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा चालक दलको तालिम, सञ्चालन मापदण्ड, निर्णय प्रक्रिया, सञ्चालनगत लचकता तथा थकान व्यवस्थापनका विषयमा केन्द्रित छलफल गरिनेछ ।

काठमाडौँस्थित European Union Delegation to Nepal का कार्यवाहक प्रमुख थोमस मिलारले हवाई सुरक्षा नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले अर्थमन्त्रीले हालैको बजेट वक्तव्यमा युरोपेली आयोगका चासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको विषयलाई इयुले सकारात्मक रूपमा लिएको बताएका छन् ।

उनले सुधारात्मक कार्ययोजनासम्बन्धी पूर्ण दस्तावेज हालै प्राप्त भएको र युरोपेली आयोगअन्तर्गतको महानिर्देशनालय (डिजी मुभ) ले आगामी महिनामा त्यसको समीक्षा गर्ने जानकारी दिएका छन् ।

मिलारले नेपाली नागरिक तथा यात्रुले अपेक्षा गरेको सुरक्षा स्तर हासिल गर्न नेपाल सरकारसँग मिलेर काम गर्न इयु तथा उसका सदस्य राष्ट्रहरू प्रतिबद्ध रहेको बताएका छन् । सदस्य राष्ट्रहरूले प्राविधिक सहयोग उपलब्ध गराउँदै सरोकारवालासँग निकट सहकार्य गरिरहेको उनको भनाइ छ ।

यसैगरी, असार १५ देखि १८ गतेसम्म काठमाडौँमा दक्षिण एसिया क्षेत्रीय पहल (सारी) अन्तर्गत ‘कन्टिन्युङ एयरवर्दिनेस’ सम्बन्धी नियामकीय अद्यावधिक कार्यशाला आयोजना गरिनेछ । कार्यशालामा European Union Aviation Safety Agency का नवीनतम नियमावली तथा आधुनिक अनुगमन अवधारणाबारे छलफल हुनेछ ।

इयुको प्रतिनिधिमण्डलका अनुसार यी कार्यक्रमहरूले क्षेत्रीय सहकार्यलाई व्यवस्थित र दीर्घकालीन स्वरूप दिन सहयोग गर्नेछन् । साथै, दक्षिण एसियामा हवाई क्षेत्रसम्बन्धी संवादका लागि नेपाललाई महत्वपूर्ण मञ्चका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

हवाई सुरक्षाको सुदृढ प्रणालीले क्षेत्रीय सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास इयुले व्यक्त गरेको छ । इयुले दक्षिण एसियामा सुरक्षित, सबल तथा भविष्यउन्मुख हवाई यातायात प्रणाली निर्माणका लागि नियामक निकाय, सेवा प्रदायक र उद्योग क्षेत्रबीच सहकार्य प्रवर्द्धन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्