राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरूसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री सुशीला कार्कीले स्वयंले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र परोक्ष रूपमा अघि बढाइरहनुभएको जानकारी दिनुभयो । 

संयोजक दाहालले निर्वाचनको विकल्प नभएको दोहोर्‍याउँदै तोकिएको मितिमै निर्वाचन हुनुपर्छ भन्नेमा जोड दिनुभएको उहाँले जानकारी दिनुभयो ।

सञ्चार मन्त्री खरेलले भन्नुभयो, “सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भयो । त्यस क्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषका बीच वार्ता भएको छ ।” वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उहाँले सरकारको महत्त्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।

सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै सञ्चार मन्त्री खरेलले वार्ता र छलफललाई लगातार अघि बढाइरहेको स्पष्ट पार्नुभयो ।

उहाँले निर्वाचन आयोग, सुरक्षा निकाय र अरू सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

सञ्चार मन्त्री खरेलले भन्नुभयो, “प्रमुख तीन दलका शीर्ष नेताहरूले आफूसँगको भेटमा आफूहरू चुनाव विरोधी होइनौँ, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो । ताजा जनादेश लिएर जनताबाट अनुमोदित हुने विषय राम्रो र उपयुक्त बाटो हो भनी स्पष्ट धारणा राख्नुभएको छ ।”

नेपाली काँग्रेसको तर्फबाट चुनावको विकल्प छैन, प्रतिनिधिसभाको पुनः स्थापना आफ्नो पार्टीको मुद्दा होइन भनी सभापति शेरबहादुर देउवाले स्पष्टसँग राख्नुभएको जनाउँदै मन्त्री खरेलले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पनि निर्वाचनको विकल्प नरहेकाले अबको यात्रा भनेकै चुनाव हो भनी स्पष्ट गर्नुभएको बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जानुपर्छ तर त्यसका लागि सुरक्षाको वातावरण बनोस् भनी चासो व्यक्त गर्नुभएको मन्त्री खरेललेको भनाइ थियो । 

दलहरूबाट व्यक्त भावनाअनुरूप सरकारले चुनावको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार मन्त्री खरेलले भन्नुभयो, “शीर्ष नेताहरूसँगको भेटबाट आशावादी मात्र होइन, फागुन २१ गते चुनाव हुन्छ । सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन् ।”

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्