‘स्प्लिट्सभिल्ला’ र ‘बिग बोस’ बाट चर्चित बनेका जय दुधाने विमानस्थलबाट पक्राउ



मुम्बई । ‘स्प्लिट्सभिल्ला १३’ का विजेता तथा ‘बिग बोस मराठी ३’ का उपविजेता चर्चित इन्फ्लुएन्सर जय दुधानेलाई मुम्बई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। ५ करोड भारु ठगी गरेको आरोपमा उनलाई आइतबार नियन्त्रणमा लिइएको हो।

१० दिनअघि मात्रै विवाह गरेका दुधाने पत्नीसँग हनिमुनका लागि विदेश जान लाग्दा विमानस्थलमै समातिएका हुन्। उनले आफूमाथि लागेका सबै आरोप निराधार रहेको दाबी गरेका छन्।

इन्डिया टुडेको रिपोर्टअनुसार एक अवकाशप्राप्त इन्जिनियरले दुधानेविरुद्ध ५ करोड ठगीको उजुरी दिएका थिए। उजुरीमा जयले आफ्नो परिवारका चार सदस्यसँग मिलेर ती इन्जिनियरलाई ठाणेका ५ वटा व्यापारिक पसलमा लगानी गर्न लगाएको उल्लेख छ।

नक्कली कागजात देखाई ४.६१ करोडमा ती पसलहरू बिक्री गरिएको तर पछि बैंकले ती पसलहरू जफत गर्ने नोटिस पठाएपछि मात्रै ठगी भएको खुलासा भएको थियो। ती पसलहरू पहिले नै बैंकमा धितो राखिएको पाइएको छ।

मुम्बई प्रहरीका वरिष्ठ निरीक्षक प्रवीण मानेका अनुसार दुधानेलाई ४ जनवरीमा पक्राउ गरिएको हो र उनको परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान भइरहेको छ। गिरफ्तारीपछि दुधानेले आफूलाई यसबारे कुनै जानकारी नभएको र प्रहरीलाई पूर्ण सहयोग गर्ने बताएका छन्।

उनले आफूविरुद्ध ‘लुक आउट’ नोटिस जारी भएकोबारे समेत थाहा नभएको र हनिमुनमा जान लाग्दा रोकिएको सञ्चारमाध्यमलाई बताएका छन्।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्