ढकारी गाउँपालिकामा १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
अछाम । अछामको ढकारीमा १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । पालिकाको वुढासैन खेल मैदानमा आज देखि प्रतियोगिता सुरु भएको हो ।
युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंक बहादुर साउदको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद रहनु भएको थियो ।
प्रमुख अतिथि साउदले उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने समूहलाई उपहारस्वरूप विद्यालय भवन दिने बताउनु भएको छ । खेलमा सहभागी नौ विद्यालयमध्ये प्रथम हुनेलाई दुई कोठे पक्की भवन दिइने भएको हो।
आज बिहीबार देखि सुरु अन्तरविद्यालयस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदले खेल क्षेत्रको विकास र खेलाडीको हौसला बढाउन यस्तो उपहारको घोषणा गरिएको बताउनु भयो । उहाँले पालिकाको वुढासैन खेल मैदान निर्माण सँगै खेल क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गरेको बताउनु भयो । आगामी बर्ष पालिका भित्रका सम्पुर्ण विद्यार्थीलाई आवश्यक बजेटका लागि १ करोड भन्दा बढी रकम विनियोजन गर्न लागिएको जानकारी गराउनु भयो ।
खेलाडीले उच्च मनोबलका साथमा खेल प्रदर्शन गरि जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगितामा समेत राम्रो खेल प्रदर्शन गर्न सुझावका साथै सफलताको शुभकामना व्यक्त गर्नुभयो । रनिङ शिल्डमा ढकारी गाउँपालिकाभित्रका नौ विद्यालयका २१० छात्र र २०७ छात्रा गरी जम्मा ४१७ खेलाडी सहभागी छन्। उनीहरूले भलिबलसहित हाइजम्प, लङ्जम्प, त्रिपल जम्प, सटपुट, ३०००, १५००, ८००, ४००, २०० र १०० मिटरका दौडमा प्रतिस्पर्धा गर्ने खेल प्रशिक्षक कमलबहादुर बुढाले जानकारी दिए। उनका अनुसार चार दिनसम्म जम्मा ३० इभेन्ट खेलाइनेछ ।
उत्कृष्ट खेलाडी उत्पादनका लागि यो प्रतियोगिताले मद्दत गर्ने भन्दै युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंकबहादुर साउदले आगामी दिनमा खेल क्षेत्रको विकासमा थप पहल गरिने बताउनु भयो
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि कर्मचारी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक,विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि र आम नागरिकको उपस्थित रहेको थियो । युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष जनक विकको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश साउदले गर्नुभएको थियो । । प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगिताको समापन यही पुस २७ गते हुनेछ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार
















