बोल्सोनारोको जेल सजाय घटाउने विधेयकमा भिटो प्रयोग
ब्रसिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाले आफ्ना पूर्ववर्ती जैर बोल्सोनारोको जेल सजाय घटाउने विधेयकमाथि भिटो लगाएका छन् । ‘कू’ को अभियोगमा गत वर्ष सेप्टेम्बरमा बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो ।
गतवर्ष विपक्षीको बाहुल्य रहेको कंग्रेसले बोल्सोनारोको जेल सजाय घटाउने विधेयक पारित गरेको थियो । लुलाले सो विधेयक रोक्ने कसम खाएका थिए । बिहीबार लुलाले विधेयकमाथि भिटो लगाएका छन् ।
‘भविष्यको नाममा हामीले विगतलाई भुल्नु हुँदैन,’ सामाजिक सञ्जालमा शृङ्खलाबद्ध पोस्टमध्ये एकमा लुलाले लेखेका छन् । यसले ब्राजिलको प्रजातन्त्रमाथि धावा बोल्नेहरूले फाइदा पाउने उनको भनाइ थियो ।
राष्ट्रपति, कंग्रेस र सर्वोच्च अदालत लगायतका सरकारी भवनहरू भएको ब्रसिलियास्थित थ्री पावर्स प्लाजामा आक्रमण भएको तेस्रो वार्षिकोत्सवमा सो भिटो लगाइएको हो । जनवरी ८ मा बोल्सोनारोका हजारौँ समर्थकहरूले उक्त प्लाजामाथि आक्रमण गरेका थिए । त्यसपछि लुलालाई सत्ताच्यूत गर्न सैन्य कारबाही भएको थियो ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार
















