नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न



काठमडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८१।८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको अठारौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदाझैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताए ।

कम्पनीले भावी दिनमा मेघा परियोजना सञ्चालन गर्नु पर्ने र थप पुँजी आबश्यक हुने अवस्थामा बोनस सेयर समेत उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष अर्यालले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु. ३८ अर्ब १९ करोड आम्दानी गरी रु. ६ अर्ब नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये रु. १८ अर्ब ४६ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको छ ।’

यसका साथै साथ निरन्तरता दिइएको जानकारी गराउँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायतका क्षेत्रहरुमा सदाझैँ सहयोग उपलब्ध गराउँदै आएको अध्यक्षले बताए ।

सो कार्यक्रममा देशभित्र आम ग्राहक र सरोकारवालाहरुको ५ जि सेवालाई उपभोग गर्ने तीव्र आकांक्षा रहेको उल्लेख गर्दै उनले कम्पनी निकट भविष्यमा नै देशको राजधानी लगायत ठूला शहरहरुबाट ५जि सेवा सुचारु गर्ने प्रक्रियामा रहेको बताए ।

देशको भौगोलिक अवस्था र सापेक्षित रुपमा अन्य पूर्वाधारहरुको पहुँच विस्तार हुन नसकेको अवस्थामा कम्पनीले सेवाभावबाट प्रेरित भई सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन ४जी–एलटीआई प्रविधिमा आधारित भोल्टा सेवा तथा एफटीटीएच सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको उनले बताए ।

वि.सं. २०८२ असोज मसान्तसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार ४जी–एलटीआई सेवाको पहुँच विस्तार भएको छ ।

२०८२ असोज महिनासम्ममा देशका ७७ वटै जिल्लामा उच्च गतिको एफटीटीएच सेवा विस्तार भएको छ । उनले समीक्षा अवधिमा २जी तर्फ १४३ तथा ४जी तर्फ १०९ वटा बीटीएसहरु थप गरी हालसम्म २जी तर्फ ४,५४२, ३जी तर्फ २,९९४ र ४जी तर्फ ४४३७ वटा बिटीएस सञ्चालनमा रहेको बताए ।

कोशी, मधेश र बागमती प्रदेश अन्तर्गतका मध्य पहाडी लोकमार्ग, जिल्ला सदरमुकाम जोड्ने विभिन्न मार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने कार्यक्रम अन्तर्गत आ.व. २०८१/८२ को अन्त्यसम्ममा कूल ८,८३४ किलोमिटर नेटवर्क विस्तार भएको बताए ।

दूरसञ्चारको प्रतिस्पर्धात्मक बजारमा कम्पनीलाई सक्षम संस्थाको रुपमा विकास गर्न कम्पनीको आन्तरिक कार्यवातावरणलाई चुस्त र प्रभावकारी बनाउँदै निर्णय प्रक्रिया, कार्यशैली र संस्थागत संरचना सुधारका लागि विद्यमान नीति नियमलाई आवश्यकता अनुरुप व्यावहारिक र समयसापेक्ष बनाउँदै लगिएको बताउदै विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको अध्यक्षले बताए ।

अध्यक्ष अर्यालले डाटा सेवा तर्फ दिनानुदिन ग्राहक आकर्षण बढ्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागत प्रभावी बनाउँदै कुशल रणनीतिका साथ बजार हिस्सा बढाउन विशेष प्रयत्न गरिने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरुसँग सम्बन्ध स्थापित गरी कम्पनीको हित अनुकूल हुनेगरी साझेदार संस्थाहरुसँगको सहकार्य समेत विस्तार गरिने बताए ।

कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनीरुले राखेको जिज्ञासाहरुको जवाफ दिदै दिएको सुझावहरुको क्रमश: कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीले अठारौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०८२ पुस ३० गते) देखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको प्राधिकारणका प्रवक्तला रबिन्द्र मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्