नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर



काठमाडौं, माघ १२ । नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा आइतबार रियादमा हस्ताक्षर भएको छ ।

साउदी अरबमा जाने नेपाली श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन र श्रमिकको अधिकार सुनिश्चित गर्न यो सम्झौता भएको हो । दुई देशबीच श्रम सम्झौता गर्न एक दशकदेखि प्रयास भइरहेको थियो ।

सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजीले हस्ताक्षर गरेका छन् । अल–राजीले सन् २०१८ देखि मानव संसाधन मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् ।

गत जेठ अन्तिम साता जेनेभामा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच घरेलु श्रमिकसम्बन्धी सम्झौतालाई बाँकी राखेर सामान्य श्रम सम्झौता गर्ने सहमति भएको थियो । घरेलु श्रमिकसम्बन्धी सम्झौताका लागि थप गृहकार्य गर्ने मन्त्रालयले जनाएको छ ।

नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ । अब खाडी देशमध्ये कुवेतसँग मात्रै सम्झौता हुन बाँकी छ । ओमनसँग भने मस्यौदामा सहमति भइसकेको छ ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्