मल अभावबारे सरकारको ध्यानाकर्षण, किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन माग



नेपालगन्ज, ६ साउन । पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राय र लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री भण्डारीलाल यादवले खेतीपातीको समयमा किसानले रासायनिक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

दुवै नेताले कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्ज पुगेर मलको मौज्दात र आपूर्तिको अवस्थाबारे जानकारी लिँदै किसानलाई तत्काल सहज रूपमा मल उपलब्ध गराउन आग्रह गरेका हुन्।

सांसद रायले धान रोपाइँका बेला मल अभावले किसान मारमा परेको बताउँदै समयमै मल उपलब्ध नभए उत्पादनमा असर पर्ने चेतावनी दिए। उनले संसद्मा पनि मल अभावको विषय पटक–पटक उठाएको उल्लेख गरे।

देशभित्र मल अभाव भइरहेका बेला सीमापारिबाट किसानले मल ल्याउन नपाउने अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै रायले तस्करी रोक्नुपर्ने भए पनि किसानलाई आवश्यक मल ल्याउँदा दुःख दिन नहुने बताए।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार