टाइगर कप भलिबलमा गण्डकी र एपिएफको जित
पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल अन्तर्गत गण्डकी प्रदेश भलिबल संघ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सोमबारको खेलमा जित हासिल गरेका छन् ।
पुरुष तर्फ आज भएको पहिलो खेलमा एपिएफले पाहुना टोली माल्दिभ्स भलिबल एसोसियसन माथि ३–० को सोझो सेटमा सहज जित हात पर्दा अर्को खेलमा गण्डकीले त्रिभुवन आर्मी क्लबलाई ३—१ को सेटमा पराजित गरेको हो ।
एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तर्गत निकै प्रतिस्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पार्न सफल भयो ।
च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसिएसनलाई पराजित गरेको थियो । आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
यसैबिच, महिलातर्फ आज भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्यो ।
च्याम्पियनसिप अन्तर्गत भोलि (मङ्गलवार) ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्ड क्विन्सबिच बिहान साँढे ८ बजेबाट सुरु हुनेछ । दोस्रो खेल महिलातर्फ नै न्यू डायमन्ड स्पोट्र्स क्लब र पुलिसबिच हुनेछ । त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ । पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने खेल संयोजक कुमार गुरुङले बताउनुभयो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिङ्गल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार
















