१८औँ मिस तामाङ बनिन् साम्राज्ञी मोक्तान
काठमाडौँ, माघ १८ । १८औँ मिस तामाङको ताज काठमाडौँ बौद्धकी साम्राज्ञी मोक्तानले पहिरेकी छिन् ।
शनिवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै मोक्तानले ताज पहिरिन सफल भएकी हुन् ।
विजेता मोक्तानलाई १७ मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन् । मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पारेकी छिन् ।
प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनर अप बनिन भने सृष्टि थिङ तामाङ सेकेन्ड रनर अप बनिन् ।
त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनर अप बनिन्। फस्ट रनर अपलाई ३० हजार, सेकेन्ड रनर अपलाई २० हजार र थर्ड रनर अपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जता लामाले बताइन् ।
प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनलिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पुजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले हात पारेकी थिइन् ।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार







