इन्टरनेटमा भाइरल बनेको एउटा चिठी


 


बेइजिङ / दुईजना एक–आपसमा प्रेम गर्छन् भने त्यसले सामाजिक स्थितिमा के असर पार्ला ? चीनका एक युवकले प्रेमिकासँग विवाह गर्न पाउनुपर्ने माग राख्दै प्रेमिकाकी आमालाई चिठीमा लेखेको यो प्रश्न अहिले संसारभर भाइरल भएको छ ।

पेसाले पेन्टर २० वर्षीय सियाओ योङले विश्वविद्यालयमा अध्ययन गरेका छैनन् । तर, उनकी प्रेमिका चेनचेनले विश्वविद्यालयको अध्ययन सकेकी छिन्, त्यहीअनुसार काम पनि गरेकी छिन् ।

आफू पेन्टर भएको र प्रेमिकाले धेरै अध्ययन गरेकाले योङलाई प्रेमिका परिवारले विवाहका लागि अस्वीकार गर्ला भन्ने चिन्ता थियो । त्यसैले, उनले प्रेमिकाकी आमालाई चिठी लेखे, इमानदार भए । अहिले त्यो चिठी विश्वभर इन्टरनेटमा चर्चा गरिएको छ ।

चिठीमा उनले लेखेका छन्–

प्यारी अन्टी,

हामी ड्रयागनबोट उत्सवमा भेटेका थियौँ । मलाई लाग्यो, तपाईंलाई मेराबारे केही सन्देह छ । गलत जानकारी छ । त्यसैले, म चाहन्छु, तपाईंलाई मबारे भनिदिउँ । म एक पेन्टर हुँ । तपाईं भन्नुहुन्छ– पेन्टिङ एउटा नराम्रो काम हो र यसले थकाउँछ ।

तर, मलाई यो काममा कुनै अप्रसन्नता भएको छैन । पेन्ट शरीरका लागि खराब हुन्छ भनेर पनि तपाईं भन्नुहुन्छ रे, तर यो साँचो होइन । मैले बिहान सबेरैदेखि रात अबेरसम्म काम गर्नुपर्छ, तैपनि कमाइ हुँदैन भन्नुहुन्छ रे π तर, होइन । विश्वविद्यालय पढिसकेका कैयौँको भन्दा मेरो कमाइ राम्रो छ ।

म केबल हजुरकी छोरीको विवाह मसँग होस् भन्ने चाहन्छु । र, वाचा गर्छु– विवाहपछि घर किन्न म तपाईंसँग ऋण माग्नेछैन । हुन त यो चिठी एक पारिवारिक विषय मात्र हुन सक्थ्यो, तर चिनियाँ सामाजिक सञ्जाल विबोमा यसलाई सेलिब्रेटी लियु जी साओले सेयर गरे ।

लियुलाई यो पत्रको तस्बिर योङले पठाएका थिए । विबोमा सेयर भएपछि यो पत्र डेढ करोडभन्दा धेरैले पढे । योङको इमानदारीको प्रशंसा गरे । सामाजिक सञ्जालमा मात्र होइन, यसको चर्चा चिनियाँ सञ्चारमाध्यममा पनि हुन थाल्यो ।

पत्रपत्रिकाले पहिलो पृष्ठमा प्राथमकिताका साथ यो चिठी प्रकाशित गरे । त्यसपछि विश्वभरका मानिसको ध्यान यसमा पर्न थाल्यो । चीनमा विवाहपछि नयाँ घर किन्न सक्ने र विश्वविद्यालयको अध्ययन सकेकालाई विवाहका लागि प्राथमिकता दिने चलन छ ।

त्यसैले, योङले लेखेको चिठी चीनमा छिटो प्रचार भएको हुन सक्ने अनुमान छ । तर, चिठीको चर्चा चुलिए पनि विवाहका लागि चेनचेनकी आमाले समर्थन गरिन्/गरिनन् भन्ने केही पत्ता लागेको छैन ।

एजेन्सी

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्