राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ ।
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
“हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबिचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हामी बिच स्थापित द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो भन्दै उहाँले यस प्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताउनुभयो ।
नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको छ भन्नुभयो । जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक लगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुगेको उहाँको भनाई थियो ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार












