सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : सुबाश तामाङ प्ले–अफमा च्याम्पियन
काठमाडौँ, ४ असार । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’को उपाधि प्रोफेसनल गल्फर सुबाश तामाङ ले जित्नुभएको छ। प्ले–अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर खेलाडी सदभाव आचार्य लाई पछि पार्दै उहाँ च्याम्पियन बन्नुभएको हो।
उपाधिसँगै सुबाशले तीन लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो। सुबाश, भुवन र सदभावले चार चरणको खेल समग्रमा १८-अन्डर २७० स्कोरमा बराबरी गरेपछि विजेता टुङ्ग्याउन प्ले–अफ खेलाइएको थियो। प्ले–अफमा सुबाशले पार खेल्दा भुवन र सदभावले पार जोगाउन नसकेपछि उपाधि सुबाशको नाममा गएको हो।
अन्तिम दिन सुबाशले ३-अन्डर ६९ स्कोर गर्नुभयो। तेस्रो होलमा बोगी खेपे पनि सातौँ होलमा बर्डी गर्दै फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउनुभयो। ब्याक नाइनमा ११औँदेखि १३औँ होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै ३-अन्डर ३३ स्कोर गर्नुभयो।
भुवनले अन्तिम दिन ४-अन्डर ६८ स्कोर गर्नुभयो। दोस्रो होलमा बोगी खेपेपछि तेस्रो, चौथो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा समाप्त गर्नुभयो। ब्याक नाइनमा दुई बर्डी र एक डबल बोगीसहित इभन–पार ३६ स्कोर गर्नुभयो। दोस्रो स्थान हासिल गर्दै उहाँले दुई लाख छ हजार रुपैयाँ प्राप्त गर्नुभयो।
एमेच्योर खेलाडी सदभावले प्रतियोगिताको अन्तिम दिन उत्कृष्ट ६-अन्डर ६६ स्कोर गर्नुभयो। फ्रन्ट र ब्याक नाइन दुवैमा ३-अन्डर ३३ स्कोर गर्दै उहाँ प्ले–अफमा पुग्न सफल हुनुभयो। यद्यपि प्ले–अफमा उपाधि जित्न नसके पनि एमेच्योरतर्फ विजेता बन्नुभयो। उहाँले राहुल विश्वकर्मा लाई आठ स्ट्रोकले पछि पार्नुभयो।
शुक्र बहादुर राई समग्रमा १५-अन्डर २७३ स्कोरसहित चौथो स्थानमा रहँदै प्रोफेसनलतर्फ तेस्रो बन्नुभयो। उहाँले एक लाख ६२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो।
साबिक विजेता राहुल विश्वकर्मा १०-अन्डर २७८ स्कोरसहित पाँचौँ स्थानमा रहनुभयो भने एमेच्योरतर्फ दोस्रो हुनुभयो। तेन्जिङ छिरिङ ७-अन्डर २८१ स्कोरसहित एमेच्योरतर्फ तेस्रो हुनुभयो।
प्रोफेसनलतर्फ दिनेश प्रजापति चौथो हुँदै एक लाख ४५ हजार रुपैयाँ प्राप्त गर्नुभयो। निरज तामाङ पाँचौँ स्थानमा रहँदै एक लाख २८ हजार रुपैयाँ जित्नुभयो।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर गौरव तयाल र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए)का अध्यक्ष रविन्द्रमान श्रेष्ठ ले पुरस्कार वितरण गर्नुभएको थियो। कुल १८ लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा शीर्ष १८ प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए।
यस प्रतियोगितासँगै सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजनका आठवटै प्रतियोगिता सम्पन्न भएका छन्। सिजनभर उत्कृष्ट प्रदर्शन गरेका भुवन नगरकोटी अर्डर अफ मेरिटको शीर्ष स्थानमा रहँदै नम्बर एक खेलाडी बन्न सफल हुनुभएको छ। उहाँले सिजनभर चार उपाधिसहित कुल १० लाख ३३ हजार ५०० रुपैयाँ पुरस्कार जित्नुभयो।
अर्डर अफ मेरिटमा सुबाश तामाङ दोस्रो स्थानमा रहनुभयो। उहाँले सात लाख २७ हजार ३३३ रुपैयाँ पुरस्कार जित्नुभयो। दिनेश प्रजापति, जयराम श्रेष्ठ र सञ्जय लामा क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे।
कुल ८० लाख रुपैयाँ पुरस्कार राशिको सिजनमा ३६ जना प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












