हङकङमा अब घरमै बसेर रोजगारी खोज्न सकिने, नेपाली व्यवसायीले सञ्चालनमा ल्याए ‘जबलिंक कनेक्ट’ !
हङकङ । हङकङमा नेपाली समुदायका व्यवसायीहरुले ‘जबलिंक कनेक्ट’ मोबाइल एपको बेटा संस्करण आजबाट सञ्चालनमा ल्याएका छन् ।
गोर्खाज् फाइनान्स लिमिटेडका अध्यक्षसमेत रहेका डिके दाहालसहितका व्यवसायीहरुले यो एप सञ्चालनमा ल्याएका हुन् ।
यो एप सम्भवतः हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा तयार गरिएको पहिलो रोजगारसम्बन्धी मोबाइल एप हो ।
जबलिंक कनेक्ट एपको विचार CUHK EMBA को MIT Hong Kong Innovation Node अन्तर्गत Think Like an Innovator पाठ्यक्रमको अध्ययनको क्रममा परिष्कृत गरिएको छ ।
यसले २०१४ मा डिके दाहालले Viber र Facebook मा सुरु गरेको “कन्स्ट्रक्सन ग्रुप” को डिजिटल संस्करणको रूपमा काम गर्नेछ।
एपले ब्लूकलर कामदारहरूलाई घरमै बसेर आफ्नो सिप र दक्षता अनुसार रोजगारी खोज्ने अवसर प्रदान गर्दछ भने रोजगारदाताले पनि सजिलै कामदार भेट्टाउन सक्नेछन् ।
एप मोबाइल-फ्रेन्डली डिजाइन गरिएको छ र विशेष गरी निर्माण, खाद्य तथा पेय पदार्थ, डोमेस्टिक हेल्पर, सुरक्षा, ड्राइभर, निर्माण र उत्पादन, यातायात र रसद, मर्मत, हेल्थकेयर सपोर्ट जस्ता क्षेत्रमा काम गर्नेहरूलाई लक्षित बनाइएको संस्थापक दाहालले बताए ।
संस्थापक दाहालले भने, ‘हङकङमा कामको हाहाकार छ र धेरै नेपालीहरू बेरोजगार छन् । JobLink Connect एपले हाम्रो समुदायलाई सशक्त बनाउन ठूलो भूमिका खेल्नेछ।’
एप हङकङमा सुरुवात भएपश्चात्, नेपाल लगायत विश्वभर विस्तार गर्ने योजना रहेको पनि संस्थापक दाहालले जानकारी दिए ।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार
















