टि–२० विश्वकप : अन्ततः पाकिस्तान भारतसँग खेल्न तयार
काठमाडौँ । आईसीसी टि–२० विश्वकपमा पाकिस्तान भारतविरूद्ध खेल्न सहमत भएको छ ।
पाकिस्तान सरकारले भारतसितको म्याच नखेल्ने भनेर १० दिनअघि लिएको निर्णय बदलेको हो । अब पाकिस्तान र भारतको खेल फेब्रुअरी १५ मा कोलम्बो (श्रीलंका) मा निर्धारित समयमै हुनेछ ।
पाकिस्तान सरकारको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘बहुपक्षीय छलफल र मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राखेर पाकिस्तान सरकारले राष्ट्रिय क्रिकेट टिमलाई फेब्रुअरी १५, २०२६ मा आईसीसी मेन्स टी–२० विश्वकपको निर्धारित खेलमा मैदानमा उत्रन निर्देशन दिएको छ । यो निर्णय क्रिकेटको भावना जोगाउन र विश्व खेलको निरन्तरताका लागि लिइएको हो ।’
आईसीसीले पनि विज्ञप्ति जारी गर्दै भनेको छ कि आईसीसी र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीचको वार्ता सफल भएको छ। सबै सदस्य राष्ट्रहरूले आईसीसी इभेन्टका प्रतिबद्धता सम्मान गर्ने र यो विश्वकपलाई सफल बनाउन सहयोग गर्ने सहमति भएको छ ।
यो विवाद पाकिस्तानले भारतसँग खेल्न नमान्ने घोषणा गरेपछि सुरु भएको थियो । पीसीबी अध्यक्ष मोहसिन नकवीले बंगलादेशलाई विश्वकपबाट हटाइएकोमा आईसीसीको दोहोरो मापदण्ड भएको आरोप लगाएका थिए । तर वार्तापछि बंगलादेशलाई कुनै कारबाही नगर्ने र २०२८–२०३१ चक्रमा थप एक आईसीसी इभेन्ट आयोजना गर्ने अधिकार दिने निर्णय भएको छ । यसपछि बंगलादेश क्रिकेट बोर्डले पनि पाकिस्तानलाई भारतसँग खेल्न आग्रह गरेको थियो ।
श्रीलंका, यूएई जस्ता देशहरूले पनि पाकिस्तानलाई खेल्न आग्रह गरेका थिए किनकि यो खेल नहुँदा अन्य राष्ट्रहरूलाई आर्थिक नोक्सान पुग्न सक्थ्यो ।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार
















