बिरामी बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते
काठमाडौँ, माघ २८ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज बिहान करिब पौने पाँच बजेतिर रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट बिरामी बोकेर दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप चोरखोलमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिप चालक रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित चार जना सवार थिए ।
दुर्घटनामा दुई महिला र एक बच्चा घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका–२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका, ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी छन् ।
घाइते तीनै जनालाई कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार












