प्रतिनिधि सभा निर्वाचन : शुक्रबारसम्म सबै मतपत्र छापीसक्ने
काठमाडौँ, माघ २९ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले शुक्रबारसम्म सबै मतपत्र छाप्ने तयारी गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको जनक शिक्षाले अब ५० हजार मतपत्र मात्रै छाप्न बाँकी छ ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख मतपत्र आवश्यक रहेकामा बुधबारसम्म एक करोड ५३ लाख मतपत्र छापिसकिएको छ । अब करिब ५० लाख मतपत्र छपाइ गर्न बाँकी रहेको उनले बताए ।
उम्मेदवार संख्या धेरै भएका जिल्लामा ठूलो आकारका तथा कम उम्मेदवार भएका जिल्लामा सानो आकारका मतपत्र छाप्नुपर्ने भएकाले केही ढिलाइ भएको केन्द्रले स्पष्ट पारेको छ ।
यसअघि केन्द्रले १० लाख नमूना मतपत्र छापेर निर्वाचन आयोगमार्फत विभिन्न स्थानमा पठाइसकेको छ । त्यस्तै समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापी प्याकिङ सम्पन्न गरिसकिएको छ ।
बिहीबारदेखि छापिएका मतपत्रहरू जिल्लामा पठाउन सुरु गरिने र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पु¥याइसक्ने केन्द्रको तयारी छ ।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार












