उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं, फागुन १ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ भने देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही ठाउँमा दिउँसोसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति तराईका केही ठाउँमा पनि तुँवालो लाग्ने अनुमान छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने छ भने अन्य भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

तराईमा बिहानपख लाग्ने हुस्सु तथा कमजोर हावाका कारण वायु प्रदूषणको मात्रा बढ्न सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्