निषेधाज्ञाकाबीच राजाबादीहरु पूर्वराजालाई स्वागत गर्न विमानस्थल जाँदै
काठमाडौं, फागुन १ । निषेधाज्ञाकाबीच राजाबादीहरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लगायत राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरु शुक्रबार मध्याह्न विमानस्थल पुग्ने भएका हुन् ।
काठमाडौं प्रशासनले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । त्यसका बाबजुद पनि राप्रपाका नेताहरूले विमानस्थलमा पूर्वराजालाई स्वागत गर्न विमानस्थल जाने प्रवक्ता मोहन श्रेष्ठले बताए ।
पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा पार्टीको ब्यानर र झन्डा प्रयोग नहुने उनले बताए । उनका अनुसार पूर्वराजालाई स्वागत गर्न मध्याह्न १२ बजे भेला हुने कार्यक्रम छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बुधबार विज्ञप्ती जारी गरी त्यस्ता कार्यक्रमबारे प्रशासनसँग कसैले पनि पूर्वस्वीकृति नलिएको बताएका छन् ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार












