कार्यसम्पादनमा यी चार स्थानीय तहको विशिष्ट नतिजा



काठमाडौं, फागुन १ । गत आर्थिक वर्षको क्रियाकलापका आधारमा देशका चार वटा स्थानीय तहले विशिष्ट नतिजा प्राप्त गरेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये कार्यसम्पादनमा चार वटा स्थानीय तहले ८० प्रतिशत माथिको नतिजा निकालेका हुन् ।

यी पालिकाहरूले नीतिगत अनुशासन, वित्तीय पारदर्शीता र सेवा प्रवाह गरी चारवटा सूचकमा उच्च अंक प्राप्त गरेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले ८३.८४ अंक पाएर देशकै उत्कृष्ट पालिका बनेको छ ।

नीतिगत समयसीमा यसले २५ मा २५ अंक पाएको छ । असार १० मा बजेट पेश, असार मसान्तभित्र पारित, प्रदेशलाई कर बुझाएको, आय–व्यय प्रक्षेपण र बजेट समीक्षा सबैमा यसले पूर्ण ५–५ अंक पाएको हो।

वित्तीय अनुशासनमा २७.३३ अंक पाएको छ। राजस्व परिचालन कुशलतामा पूर्ण १३ अंक र बेरुजु फस्र्यौटमा देशभरमै उच्च १४.२८६ अंक पाएको छ । बजेट खर्चमा यो पालिकाले ९ अंक पाएको छ ।

व्यवस्थित र लक्ष्यअनुसार बजेट खर्चमा धेरैजसो ठूला सहरले शून्य पाएको अवस्थामा यसले ९ अंक ल्याएर आफ्नो खर्च गर्ने क्षमता प्रमाणित गरेको छ ।

त्यसैगरी रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अंक प्राप्त गर्दै दोस्रो, ८१.९८ अंकसहित गुल्मीको मालिका गाउँपालिका तेस्रो भएको छ भने चौथो स्थानमा रहेको गुल्मीकै धुर्कोट गाउँपालिकाले ८०.५२ अंक पाएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्