एमालेलाई पहिलो शक्ति बन्न कसैले रोक्न सक्दैन: उपाध्यक्ष पौडेल



रुपन्देही १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका निर्वाचन प्रक्षेपणहरू योजनाबद्ध र वास्तविकताभन्दा टाढा रहेको बताउनुभएको छ।

उहाँले भरपर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट गरिएको वास्तविक प्रक्षेपण केही दिनमै सार्वजनिक हुने दाबी गर्नुभएको छ।

बुटवलमा प्रेस चौतारी नेपालसम्बद्ध पत्रकारहरूसँगको अन्तरसंवादमा उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ सहित देशका विभिन्न क्षेत्रमा सार्वजनिक गरिएका प्रक्षेपणहरू तथ्यपरक नभएको जिकिर गर्नुभयो। उहाँले फिल्डको अवस्था फरक रहेको उल्लेख गर्दै त्यस्ता प्रक्षेपणहरू असफल हुने दाबी गर्नुभयो।

उहाँले प्रतिस्पर्धी दल वा उम्मेदवारप्रति टिप्पणी नगरी एमाले राष्ट्रिय राजनीतिको मूल आधारशक्ति भएको उल्लेख गर्नुभयो। रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्र तथा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेश मा एमाले बहुमतसहित पहिलो शक्ति बन्ने उहाँको दाबी छ। निर्वाचनपछि एमाले मुलुक सञ्चालनको नेतृत्वदायी भूमिकामा रहने विश्वास व्यक्त गर्नुभयो।

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहनुभएका उपाध्यक्ष पौडेलले विगतमा सुरु गरिएका विकास योजनाहरू सम्पन्न गर्न तथा नयाँ योजनाहरू कार्यान्वयन गर्न जनताको साथ आवश्यक रहेको बताउनुभयो। उहाँले मतदाताले विगतको काम र अनुभवका आधारमा प्रतिनिधि चयन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रुपन्देही क्षेत्र नम्बर ४ मा समेत पार्टीको अवस्था सुदृढ बन्दै गएकोले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा एमालेको जित कसैले रोक्न नसक्ने जनाउनुभयो ।

उपाध्यक्ष पौडेलले निर्माणाधीन बुटवल–नारायणगढ तथा बुटवल–गोरुसिङ्गे सडक आयोजना, सिद्धबाबा सुरुङमार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा कालीगण्डकी–तिनाउ डाइभर्सनजस्ता पूर्वाधार आयोजना एमालेका प्राथमिकतामा रहेको बताउनुभयो। ती आयोजना सम्पन्न भई प्रभावकारी सञ्चालनका लागि एमालेको जित आवश्यक रहेको उहाँको भनाइ छ। 

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्