पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन २८ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र पूर्वी भूभाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ । जसले गर्दा अहिले देशका केही स्थानको मौसमी अवस्था प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ ।
कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार
















