२०२६ फिफा विश्वकप बहिष्कार गर्दै इरानले भन्यो- हाम्रा नेता मार्ने देशमा गएर खेल्ने कुरै छैन
एजेन्सी । इरानका युवा तथा खेलकुदमन्त्री अहमद दुन्यामालीले देशको वर्तमान अवस्था हेर्दा इरानले २०२६ फिफा विश्वकपमा सहभागी हुन सक्ने स्थिति नरहेको बताएका छन् ।
पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परिरहेको बेला दुनियामालीले यस्तो बताएका हुन् ।
‘हाम्रा नेताको हत्या गर्ने भ्रष्ट सरकारको देशमा गएर खेल्ने कुनै परिस्थिति छैन । हाम्रा खेलाडीहरू त्यहाँ सुरक्षित छैनन् बितेका ८–९ महिनामा हामीमाथि दुईवटा युद्ध लादिएको छ र हाम्रा हजारौं मानिस सहिद भएका छन् । त्यसैले हामी विश्वकपमा सहभागी हुन सक्ने कुरै छैन,’ उनले सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भनेका छन् ।
उनले पछिल्लो आठ-नौ महिनामा दुई वटा युद्ध भएको र हजारौँ इरानी नागरिक मारिएकोले विश्वकपमा सहभागी हुने सम्भावना नरहेको बताए ।
यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएको जानकारी दिँदै इरानलाई विश्वकपमा सहभागी हुन अमेरिका स्वागत गर्न तयार रहेको बताएका थिए ।
‘हामीलाई अहिले झन् बढी विश्वकपजस्तो कार्यक्रम चाहिएको छ जसले मानिसलाई एकताबद्ध बनाउँछ । फुटबलले विश्वलाई जोड्छ,’ इन्स्टाग्राममा इन्फान्टिनोले लेखेका थिए ।
उता इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि इरानको विश्वकप सहभागितामाथि प्रश्न उठाएका छन् ।
हालै अस्ट्रेलियामा भएको एसियन कप खेल्न गएका इरानी महिला टोलीका ६ जना सदस्यले सुरक्षाको कारण देखाउँदै अस्ट्रेलियामा शरण मागेको घटनालाई इंगित गर्दै भने- ‘महिला खेलाडीहरूसँग त्यस्तो व्यवहार भएको अवस्थामा, कुनै पनि समझदार व्यक्तिले आफ्नो टोली अमेरिका पठाउन मान्दैन ।’
इरानको महिला राष्ट्रिय टोलीका छ सदस्यले सुरक्षाको चिन्ताका कारण अष्ट्रेलियाबाट ‘मानवीय भिसा’ पाएका थिए ।
फिफा विश्वकप जुन ११ बाट अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुँदैछ । इरानले समूह चरणमा तीन खेल खेल्ने तालिका रहेको छ ।
टोलीले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार
















