‘इरानमा अमेरिका–इजरायली आक्रमण नेटोको युद्ध होइन’



काठमाडौँ । बेलायतका मन्त्री प्याट म्याकफाडेनले इरानमाथि भएको अमेरिका–इजरायलको सैन्य कारबाही नेटोको युद्ध नभएको बताएका छन् ।

बीबीसीको रेडियो–४ को ‘टुडे’ कार्यक्रममा बोल्दै उनले नेटो गठबन्धन मध्यपूर्वमा अहिले देखिएको अवस्थालाई ध्यानमा राखेर बनाइएको संस्था नभएको बताएका हुन् । १९४९ मा स्थापना भएको नेटोमा अमेरिका र बेलायतसहित १२ देश सहभागी थिए । यसको प्रमुख सिद्धान्तमध्ये एक ‘आर्टिकल–५’ हो, जसअनुसार कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भए सबै सदस्य राष्ट्रमाथि आक्रमण भएको मानिन्छ ।

कार्यक्रममा सहभागी भएका बेलायती सेनाका पूर्व प्रमुख निक कार्टरले पनि नेटो कुनै एक सदस्यले आफ्नो इच्छाअनुसार युद्ध सुरु गर्दा सबैलाई त्यसमा सहभागी हुन बाध्य बनाउने गठबन्धन नभएको बताएका थिए ।

उनको भनाइबारे प्रतिक्रिया दिँदै मन्त्री म्याकफाडेनले कार्टरको टिप्पणी सही भएको बताए । उनले अहिलेको सङ्घर्षलाई नेटोको युद्ध नभई अमेरिका र इजरायलको कारबाहीका रूपमा वर्णन गरेका छन् ।

यद्यपि उनले बेलायत नेटोप्रति गहिरो रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । हाल इरान र अमेरिका–इजरायलबिच बढ्दो सैन्य तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था जटिल बनेको छ र यसले अन्तर्राष्ट्रिय राजनीतिक तथा सुरक्षा समीकरणलाई पनि प्रभावित गरिरहेको छ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्