पाकिस्तानले गर्यो काबुलको अस्पतालमा आक्रमण, ४ सय जनाको मृत्यु
काठमाडौं । पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० घाइते भएका छन् ।
अफगानिस्तानका सरकारी उप–प्रवक्ता हमदुल्लाह फित्रतले एक्समा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे गरिएको हवाई आक्रमणले अस्पतालमा क्षति पु¥याएको बताएका छन् ।
उनले दुई हजार बेड क्षमताको उक्त संरचनाका ठूला खण्डहरू ध्वस्त पारेको बताएका छन् । उनले मृत्यु हुनेको संख्या अहिलेसम्म ४०० पुगेको र करिब २५० जना घाइते भएको जानकारी दिएका छन् ।
स्थानीय टेलिभिजनहरूका फुटेजहरूमा सुरक्षा बलहरूले टर्चलाइट प्रयोग गर्दै हताहत भएकाहरूलाई बोकिरहेको र अग्निनियन्त्रकहरूले भवनको भग्नावशेषमा सल्किएको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ । फित्रतले उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र शवहरू निकाल्न खटिरहेको बताएका छन् ।
यता पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ । पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि नागरिक क्षेत्रलाई निशाना नबनाएको पाकिस्तानले बताएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मोसर्रफ जैदीले यी आरोपहरूलाई निराधार भन्दै खारेज गरेका छन् । उनले काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाइएको बताएका छन् ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार
















