लिपुलेक हुँदै चीनसँग व्यापार पुनः सुरु गर्ने भारतको घोषणा
काठमाडौं । भारतले आगामी जुन महिनादेखि नेपालको लिपुलेक भञ्ज्याङमार्फत् चीनसँगको सीमा व्यापार पुनः सञ्चालन गर्ने तयारी गरेको छ ।
सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको यो ऐतिहासिक व्यापारिक मार्ग करिब ६ वर्षपछि पुनः खुल्न लागेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार व्यापारिक गतिविधि जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ, जसलाई मौसमअनुसार थप विस्तार गर्न सकिने बताइएको छ।
उच्च हिमाली क्षेत्रमा सडक सञ्जालमा सुधार आएको तथा पूर्वाधार विकास भएकाले यसपटक व्यापारीहरूको सहभागिता उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
तर, लिपुलेक भञ्ज्याङको विषय नेपालका लागि संवेदनशील रहँदै आएको छ। नेपालले उक्त क्षेत्रलाई आफ्नो भूभागको रूपमा दाबी गर्दै आधिकारिक नक्सामा समेत समावेश गरिसकेको छ।
यद्यपि, भारत र चीनले उक्त मार्गलाई द्विपक्षीय व्यापारिक नाका रूपमा प्रयोग गर्दै आएका छन्, जसले नेपाल–भारत–चीन त्रिपक्षीय सम्बन्धमा बेलाबेला कूटनीतिक बहस निम्त्याउँदै आएको छ ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार
















