कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्यो, चालक दलको खोजी जारी
एजेन्सी। कतारको सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटना भएको छ ।
मध्यपूर्वमा जारी युद्धका बीच कतारको सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटना भएको हो ।
प्राविधिक खराबीका कारण हेलिकप्टर समुद्री क्षेत्रमा खसेको कतारको रक्षा मन्त्रालयले जनाएको छ ।
कतारद्वारा जारी विज्ञप्तिमा हेलिकप्टरका चालक दल र अन्य यात्रुको खोजी तथा उद्धार अभियान सुरु गरिएको उल्लेख छ । दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन ।
अमेरिका–इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता युद्ध जारी छ ।
जवाफमा इरानले खाडीका देशहरूमा हमला गरिरहेको छ । जसका कारण मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ ।
यसैबीच, इरानले दक्षिणी इजरायलका डिमोना र अरद सहरहरूमा भएको आक्रमणपछि १ सयभन्दा बढी मानिस घाइते भएका छन् । सो आक्रमणको निशाना डिमोना सहरबाट १३ किलोमिटर टाढा रहेको आणविक केन्द्र (न्युक्लियर फ्यासिलिटी) भएको देखिन्छ ।
अल जजीराका अनुसार तेहरानको आक्रमणबाट इजरायलमा ठूला ठूला विष्फोटका आवाज सुनिएका छन् । इजरायली सेनाले इरानको दोस्रो हमला जारी रहेको र मिसाइलहरू आकाशमा निष्क्रिय पार्ने प्रयास भइरहेको जनाएको छ ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार
















