के इरानी मिसाइलहरू युरोपसम्म पुग्न सक्छन् ?



काठमाडौँ । पश्चिम एसियामा जारी तनावका बीच इरानले हिन्द महासागरस्थित डिएगो गार्सियामा रहेको अमेरिकी र बेलायती संयुक्त सैन्य आधार शिविरतर्फ लामो दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि विश्वभर इरानको सैन्य क्षमतालाई लिएर नयाँ बहस सुरु भएको छ।

इरानबाट करिब ३ हजार ८०० किलोमिटर टाढा रहेको उक्त लक्ष्यमा गरिएका मिसाइल प्रहारहरू सफल हुन नसके पनि यसले इरानको मिसाइल प्रविधिमा आएको ठूलो परिवर्तनलाई संकेत गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार युद्ध सुरु भएयता इरानले पहिलो पटक यति लामो दूरीको मिसाइल प्रयोग गरेको हो। इजरायली सैन्य अधिकारीहरूले इरानले अब ४ हजार किलोमिटरको रेञ्ज भएका मिसाइलहरू विकास गरिसकेको र यसले बर्लिन, पेरिस र रोम जस्ता युरोपेली राजधानीहरूलाई सिधा खतराको घेरामा पारेको दाबी गरेका छन्।

यसअघि इरानले आफ्नो मिसाइलको मारक क्षमता २ हजार किलोमिटरमा मात्र सीमित राखेको बताउँदै आएको थियो । जसले गर्दा इजरायल यसको पहुँचमा रहे पनि युरोप सुरक्षित मानिन्थ्यो। तर, पछिल्लो घटनाले इरानले आफैँले तोकेको उक्त सीमा हटाएको विज्ञहरूको विश्लेषण छ।

यसैबीच, बेलायती सरकारका केही मन्त्रीहरूले भने इरानसँग लन्डनमै प्रहार गर्न सक्ने क्षमता रहेको भन्ने कुराको अहिलेसम्म ठोस पुष्टि नभएको बताएका छन्। केही रक्षा विज्ञहरूका अनुसार इरानले आफ्नो अन्तरिक्ष कार्यक्रमको आवरणमा अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रविधि विकास गरिरहेको हुन सक्छ । जसको मारक क्षमता १० हजार किलोमिटरसम्म पुग्न सक्छ। यदि यो प्रविधि सफल भएमा इरानी मिसाइलहरू अमेरिकाको मुख्य भूभागसम्म पुग्न सक्ने खतरा रहने समाचारमा जनाइएको छ ।

विश्लेषकहरूले यस घटनालाई इरानको शक्ति प्रदर्शन र मनोवैज्ञानिक दबाब दिने रणनीतिका रूपमा पनि हेरेका छन्। इजरायलले यस मुद्दालाई युरोपेली राष्ट्रहरू र नेटोलाई युद्धमा सामेल गराउने अवसरको रूपमा प्रयोग गर्न खोजेको केही विज्ञहरूको तर्क छ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्