करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
मकवानपुर, चैत ११ । करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको मृत्यु भएको छ ।
मङ्गलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तारमा प्रवाह भएको करेन्ट लाग्दा गोलेको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
वडा नम्बर ११ का वडाध्यक्ष गोपाल न्यासुर लामाका अनुसार सडकमा लत्रिएको बिजुलीको तार पन्छाउने क्रममा गोलेलाई करेन्ट लागेको हो ।
विद्यालय जाँदै गरेका विद्यार्थीहरूले सडकमा तारमा बेरिएर लडेको अवस्थामा देखेपछि उनलाई स्थानीयले उद्धार गरेका थिए ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार
















