उदाउँदो सूर्यलाई अर्घ चढाउँदै सकियो चैती छठ



सर्लाही । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएसँगै यो वर्षको चैती छठ पर्व समापन भएको छ ।

मिथिला क्षेत्रका विभिन्न जलाशयहरुमा वर्तालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठको समापन भएको हो । गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक चारदिने चैती छठ उत्सव सुरु भएको थियो ।

मङ्गलबार साँझ व्रतालुहरुले गहुँ र चामललाई ओखल, जातो, ढिँकीमा कुटानीपिसानी गरी पिठोबाट बनाइएका विभिन्न खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गान्हो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्यसहित विभिन्न भक्ति एवं लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाट पुगेका थिए ।

मङ्गलबार बेलुका र आज बिहान पानीमा पसेर सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर सबै प्रकारका अर्घ सामग्री पालैपालो गरी सूर्यलाई अर्घ अर्पण गरेका छन् । व्रतालु घर फर्किएसँगै आफन्त, इष्टमित्र र छरछिमेकीलाई छठको पूजा बाँड्न सुरु गरेका छन् ।

सर्लाहीसहित मिथिलाञ्चलको सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी, तलाऊ, खोला, नहर किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाइएको हो ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्