रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ
रौतहट । सक्कली सुन भन्दै ठगी गरिरहेको आरोपमा प्रहरीले रौतहटबाट चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अवैध सुनको किनबेच भइरहेको सूचना पाए लगत्तै खटिएको प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वको टोलीले होटलमा खानतलासी गर्दा नक्कली सुनका टुक्राहरू र अन्य उपकरणहरू फेला पारेको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बङ्गाल (मिलिगुडी)का ३० वर्षीय संजोक बस्नेत छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूको साथबाट “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ४ थान, पोलेर कालो बनाइएको धातु १ थान, पोलेर कालो बनाई टुक्रा पारिएको धातु २ थान दूरबिन १ थान र मोबाइल ६ थान बरामद गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नक्कली सुनलाई सक्कली भनी सर्वसाधारणलाई झुक्काएर बिक्री गर्ने गरेको खुलेको छ ।
पक्राउ परेकामाथि ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरील्े जनाएको छ ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार
















