पति छोडेर प्रेमीसँग बसेकी महिलाका दुई नाबालिग छोरी भइन् बलात्कारको शिकार



काठमाडाैँ । भारतको गुजरातमा नाता, प्रेममै धब्बा लाग्ने एउटा घटना प्रकाशमा आएको छ । यो घटनाले समाजलाई पनि झस्काइदिएको छ ।

गुजरातको नवसारी जिल्लाको ग्रामीण क्षेत्र निवासी एक महिला आफ्नो पतिसँग सम्बन्ध बिच्छेद गरी प्रेमीसँग ‘लिभ इन रिलेशनशिप’मा बस्दै आएकी थिइन् ।

उनीसँग १२ र १३ वर्षका दुई छोरी पनि थिए, जो पूर्वपतितर्फका सन्तान हुन् ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार आमाको प्रेमी भनिएका पुरुषले ती दुवै सौतेनी छोरीलाई दाउरा खोज्ने बहानामा जङ्गलमा लैजाने र दुवैलाई बलात्कार गर्दै आएका थिए ।

यसै क्रममा १२ वर्षीय किशोरीले पेट दुखेको बताएपछि स्वास्थ्य परीक्षणका लागि उनकी आमाले अस्पताल लगेकी थिइन् । चिकित्सकले ती किशोरी पाँच महिनाको गर्भवती रहेको बताएपछि उनकी आमा छाँगाबाट खसेझैँ भइन् ।

बहिनीको अवस्था देखेर दिदी भावुक बनिन् र कथित सौतेनी पिताको करतुतबारे आमालाई बताइन् । उनले आफूलाई पनि सौतेनी पिताले पटक–पटक बलात्कार गरेको सुनाइन् ।

त्यसपछि जेठी छोरीको स्वास्थ्य परीक्षण गर्दा उनीसमेत दुई महिनाको गर्भवती रहेको तथ्य प्रकाशमा आयो ।

आमा–छोरीले नै यसबारे प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले पीडित परिवारको परिचय खुलाएको छैन।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्