मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै
काठमाडौं । मुलुकले आज (शुक्रबार) नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन् ।
प्रधानमन्त्री नियुक्तपछि राष्ट्रपति कार्यालय शीतल निवासमा आजै दिउँसो राष्ट्रपति पौडेलले नेता शाहलाई प्रधानमन्त्रीको शपथ गराउँदैछन् ।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जितेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार
















