आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, चैत १३ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।
आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र तराई भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना छ ।
त्यसैगरी आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार
















